नियम ५
क्वारेन्टाइन स्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्तहरू
(१) क्वारेन्टाइनस्थल निर्माण गर्दा पालन गर्नु पर्ने शर्त तथा पूरा गर्नु पर्ने मापदण्ड देहाय बमोजिम हुनेछ ः-
(क) कम्तीमा ६५०० वर्ग मिटर क्षेत्रफलको जग्गा भएको हुनु पर्ने,
(ख) पशु पालन क्षेत्र, पशु फार्म, पशु बधशाला, पशु हाट बजार र पशुको प्रत्यक्ष ओहोर दोहोर हुने ठाउँबाट कम्तीमा ५०० (पाँच सय) मिटरको दुरीमा हुनु पर्ने,
(ग) क्वारेन्टाइनमा राखिएका पशुहरूको बाहिरी पशुहरूसँग सम्पर्क हुन नपाउने गरी बार बन्देजको व्यवस्था हुनु पर्ने,
(घ) भिन्ना भिन्नै जातीका पशुहरू तथा भिन्ना भिन्नै खेपमा प्रवेश गर्ने पशुहरू राख्नको लागि अलग अलग ठाँउको व्यवस्था हुनु पर्ने,
(ङ) पशुहरूको निमित्त उपयुक्त पिउने पानी, प्रकाश, भेन्टिलेशन तथा ढल निकासको व्यवस्था हुनु पर्ने,
(च) पशुहरूलाई प्रवेश तथा प्रस्थान गराउनको लागि मुल ढोका पछि अर्को भित्री ढोका समेतको व्यवस्था हुनु पर्ने,
(छ) आवश्यक दाना, पानी, घाँस पराल आदी राख्ने ठाउँ भएको हुनु पर्ने,
(ज) पशुहरूलाई परिवहन साधनबाट ओराल्न र त्यसमा उकाल्न प्लेटफार्मको व्यवस्था हुनु पर्ने,
(झ) सजिलैसँग सफा गर्न, निःसंक्रमण गर्न र सुख्खा राख्न सकिने किसिमको भूँई निर्माण गरिएको हुनु पर्ने,
(ञ) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामाग्री राख्नको लागि छुट्टाछुट्टै र पर्याप्त स्थानको व्यवस्था हुनु पर्ने,
(ट) शीत भण्डारमा राख्नु पर्ने बस्तुहरू भएमा त्यस्ता बस्तुहरू राख्ने व्यवस्था मिलाइएको हुनु पर्ने,
(ठ) निःसंक्रमण गर्नको लागि पर्याप्त स्थान र सो को लागि प्रयोग हुने रसायन तथा सामग्रीहरु राख्नको लागि उपयुक्त ठाउँ हुनु पर्ने, र
(ड) सम्बन्धित विषयका दक्ष कर्मचारीको व्यवस्था भएको हुनु पर्ने ।
(२) क्वारेन्टाइन स्थल भित्र क्वारेन्टाइन सम्बन्धी कार्य बाहेक अन्य कार्य गर्न पाइने छैन ।